काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन भइसकेको बताएका छन् ।
आज राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेललले देशमा राजनीतिक परिवर्तन भइसकेकाले त्यसको जगमा समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गरेका हुन् ।
राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्न नहुने उल्लेख गर्दै उनले राजनीतिक परिवर्तन माध्यममात्र भएको र आफूहरुको लक्ष्य समृद्धि र समाजवाद भएको स्पष्ट पारे ।
अहिले समाजमा एक प्रकारको अन्योल पनि सृजना भएको र लोकप्रियतावाद हावी भएर गम्भीर विषयले महत्व नपाएको स्थिति रहेको उनको भनाइ छ । यस अवस्थामा स्रष्टा र कलाकारले आफ्ना बौद्धिक र सन्देशप्रद रचनाबाट समाजलाई प्रभाव पार्न सक्नुपर्नेमा जोड दिए ।
