काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा जाने भएका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएपछि उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी बन्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए। उक्त टेलिफोन संवादमा उनीहरुबीच आगामी दिनमा नेपाल-भारत सम्बन्धलाई थप मजबुत पारेर अगाडि बढ्ने विषयमा छलफल भएको बताईएको छ ।राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ ।
भारतीय मिडियाहरुका अनुसार शपथ ग्रहण समारोह ८ जुनमा हुने सम्भावना छ ।
मोदीले शपथ लिने दिन निश्चित भएलगत्तै प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा छन् । तेस्रो पटक प्रधानमन्त्री बन्न लागे पनि मोदीको भाजपा एक्लैले भने बहुमत ल्याएको छैन ।
भाजपालाई चन्द्रबाबु नायडुको तेलुगु देसम पार्टी(टीडीपी) र नीतीश कुमारको जनता दल युनाइटेड(जेडीयू) लगायतका गठबन्धनका दलहरूको साथ चाहिन्छ । बुधबार एनडीए गठबन्धनको दिल्लीमा सम्पन्न बैठकले सरकार बनाउने निर्णय गरेको छ।
