काठमाडौं । भारतमा १८ औँ लोकसभा चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । ५४३ सिटका लागि भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले एकल बहुमत गुमाएको छ ।
तर, मोदी नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलायन्स- एनडीएले भने बहुमत प्राप्त गरेको छ ।
हिन्दूस्तान टाइम्सका अनुसार यसपटकको चुनावमा प्रधानमन्त्री मोदी नेतृत्वको एनडीएले २९५ सिट जितेको छ भने राहुल गान्धी नेतृत्वको इन्डिया गठबन्धनले २३१ सिटमा जित हासिल गरेको छ । त्यस्तै अन्य दलले १७ सिटमा जित हासिल गरेका छन् ।
५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन २ सय ७२ सिट चाहिन्छ र त्यसका लागि एनडीएले आवश्यक सिट जितेको छ । सन् २०१९ मा एक्लै ३०३ सिट ल्याएको भाजपा यसपटक २४० सिटमा खुम्चिएको छ भने कंग्रेसले ९९ सिट जितेको छ ।
बिहार, उत्तर प्रदेश र पश्चिम बंगालले भाजपालाई साथ नदिँदा यसपटक बहुमत ल्याउन नसकेको विश्लेषण भइरहेको छ ।
भाजपाले अब सरकार बनाउन आफ्नो गठबन्धन दललाई मिलाएर लैजानुपर्ने हुन्छ । अब नयाँ सरकार गठनका लागि मोदीले एनडीएमा आबद्ध नीतिश कुमारको जनता दल युनाइटेड र चन्द्रबाबु नायडूको तेलेगु देशम् पार्टीको भर पर्नुपर्ने हुन्छ । ती दुवै पार्टीसँग क्रमशः १४ र १६ सिट छ ।
एनडीएमा आवद्ध यी दुई दलसँग विपक्षी गठबन्धनले पनि आज छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री मोदीले आफूहरुले नै सरकार बनाउने बताइरहँदा विपक्षी गठबन्धन पनि बहुमत जुटाउने कसरतमा छ ।