काठमाडौं । तोरण शमशेर ज.ब.रा. नेपाल प्रहरीको प्रथम प्रहरी महानिरीक्षक अर्थात आईजीपी हुन् ।
२००७ सालको क्रान्तिपश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो ।
जतिबेला उनै तोरण शमशेर प्रहरी महानिरिक्षकका रूपमा नियुक्त भएका थिए । तर, तीन दिनभित्रै षड्यन्त्रको शिकार बने र दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरा नियुक्त भए ।
त्यसको ६ वर्षपछि तोरण शमशेर २० मे १९५६ देखि २० मे १९६० सम्म नेपाली सेनाको प्रधानसेनापति बने । उनी सेनापति बनेपछि आफ्ना पुर्ववर्तीझैं श्रीपेच लगाउन चाहन्थे, तर तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले दिएनन् ।
त्यसपछि राजा त्रिभुवनले उनको लागि विशेष टोपीको व्यवस्था गरेका थिए । तर असन्तुष्ट रहेका तोरणले टोपी लगाउन मानेनन् र आफ्नो मुडुलो टाउको नै लिएर हिँडे र सेनापतिको कार्यकाल पूरा गरे ।
उनी पछि कान्ति राज पथ निर्माण समितिका अध्यक्ष नियुक्त भए । र कान्ति राजपथको उत्घाटन समारोहमा उनले राजा महेन्द्रबाट ॐ रामपट्ट तक्मा र गोरखा दक्षिण बाहु प्रथम तक्मा पाएका थिए ।
पछि गएर उनी पूर्व पश्चिम राजमार्ग निर्माण समितिको समेत सदस्य नियुक्त भए । महेन्द्र राजमार्ग एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काँकडभिठ्ठादेखि पश्चिम महेन्द्रनगरसम्म नेपाललाई जोडने हालसम्म नेपालकै सबैभन्दा लामो राजमार्ग हो ।
उनको जन्म डिसेम्बर १९०४ मा भएको हो । वीर शमशेरका छोरा गेहेन्द्र शमशेरकी भित्रिनी पट्टिका नाति इन्द्र शमशेरका छोरा हुन् तोरण शमशेर । उनको श्रीमती रानी पद्मा कुमारी देवी हुन् ।
उनी १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वस्तरीय युद्धमा समेत सहभागि भएका थिए । लगभग ७० देशहरूका जल-थल-वायु सेनाहरू यस युद्धमा सम्मलित थिए । यस युद्धमा विश्व दुई भागमा बाँडिएको थियो, मित्र राष्ट्र र धुरी राष्ट्र ।
यस युद्धमा लगभग ६ करोड मानिसहरूको ज्यान गयो र यो मानव इतिहासको सबभन्दा घातक युद्ध थियो । तर, युद्धको अन्तमा मित्र राष्ट्रहरूको जीत भएको थियो ।
