काठमाडौं । जीवनमा सफल हुन नचाहने मान्छे पनि सायदै भेटिएलान् । सफल हुनुपर्छ भन्ने पनि सबैलाई थाहा छ ।
तर, अक्सर हामी जीवनमा चालेका एक/दुई वटा प्रयासमा असफलता हात लाग्नेबित्तिकै ‘डिप्रेश हुन्छौँ । कि त छाड्छौँ त्यो प्रयास वा मोड्छौँ जीवनको गन्तव्य ।
मधेस प्रदेश घर भएका पप्पु कुमार दासको परिवार कृषिमा आबद्ध परिवार, खाने मुख धेरै । तरपनि सामान्य विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गरेका उनमा सरकारी जागिर खाने रहर थियो ।
रहर पनि एक/दुई पटक होइन । दर्जनौं पटकसम्म असफलता पाइरहँदा समेत प्रयास गर्न नछोडेका दासले अन्ततः नेपाल प्रहरीको निरीक्षक पदमा नाम निकाल्न सफल भएका छन् ।
कयौंपटकको संघर्षपछि उनको सरकारी जागिर खाने सपना मात्र पूरा भएको छैन् अधिकृत पदमा बसेर काम गर्ने सपना पनि पूरा भएको छ । जसको यतिबेला चौतर्फी प्रशंसा भएको छ । मान्छेले आँटे जे पनि पूरा हुने भन्दै दासको उदाहरण दिनेको कमी छैन ।
२०७० सालमा प्रतिनिधिसभाको चुनाव हुने भयो । जतिबेला उनले प्लस टूसम्मको अध्ययन गरेका थिए । तर, पनि देशको सेवा गर्ने उद्देश्यले उनी म्यादी प्रहरीमा जागिर खाने मनासय बनाए । अन्ततः पहिलो खुड्किलोमा नै उनी असफल भए ।
त्यसपछि उनी क्रमशः
२. वि. सं. २०७० सालमा सशस्त्र प्रहरी जवान पदको परीक्षामा उचाइ अनुसार तौल पुगेन असफल ।
३. वि. सं. २०७० सालमा नेपाली सेना सैन्य पदको ३.२ किलोमिटरको दौड प्रतियोगितामा असफल ।
४. वि. सं. २०७१ सालमा नेपाल विद्युत प्राधिकरण सिनियर मिटर रिडरको लिखित परीक्षामा असफल ।
५. वि. सं. २०७१ सालमा शिक्षक सेवा आयोगको निम्न माध्यमिक तहको लिखित परीक्षामा असफल ।
६. वि. सं. २०७१ सालमा नायब सुब्बा पदको लिखित परीक्षामा असफल ।
७. वि. सं. २०७१ सालमा प्रहरी जवान पदको मेडिकलमा असफल ।
८. वि. सं. २०७१ सालमा प्रहरी सहायक निरीक्षक २०७१ मा लिखित परीक्षामा असफल ।
८. वि. सं. २०७१ सालमा प्रहरी सहायक निरीक्षक २०७१ मा लिखित परीक्षामा असफल ।
९. वि. सं. २०७२ सालमा नेपाली सेना सैन्य पदमा सिफारिस तर गएनन् ।
१०. वि. सं. २०७२ सालमा राष्ट्रिय अनुसन्धान सहायक पदको लिखित परीक्षामा असफल ।
११. वि. सं. २०७२ सालमा प्रहरी जवान पदको लिखित परीक्षा दिएनन् ।
१२. वि. सं. २०७३ सालमा खरिदारको प्रथम परिक्षा सफल द्धितिय परीक्षा दिन पाएनन् ।
१३. वि. सं. २०७३ सालमा प्रहरी सहायक निरीक्षक पदमा नियुक्त ।
१४. वि. सं. २०७३ सालमा प्रहरी निरीक्षक पदको फारम भरेको तर परीक्षामा सहभागी हुन पाएनन् ।
१५. वि. सं. २०७४ सालमा प्रहरी निरीक्षक पदको लिखित परीक्षामा असफल ।
१६. वि. सं. २०७४ सालमा शाखा अधिकृत पदको प्रथम चरणको परीक्षामा असफल ।
१७. वि. सं. २०७५ सालमा प्रहरी निरीक्षक पदको लिखित परीक्षामा असफल ।
१८. वि. सं. २०७६ सालमा प्रहरी निरीक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा असफल ।
१९. वि. सं. २०७९ सालमा प्रहरी निरीक्षक पदमा नियुक्त ।
प्रहरी निरीक्षक पदमा नियुक्त भएका उनले सबै तालिम समेत पूरा गरिसकेका छन् । केही दिनअघि मात्र उनी पास आउट भएका हुन् । उनलाई नजिकबाट चिन्नेहरुले दास निकै मेहनती र इमान्दार रहेको बताउँछन् ।
त्यसैले भन्ने गरिन्छ, आफ्नो बाटो आफैं खन्दै जानै पर्छ । आफ्नो आफैं पथप्रदर्शक बन्नुपर्छ । असफलताबाट अलिकति पनि हार मान्नुहुँदैन ।
वैज्ञानिक जिना सोबाल्टरले भन्नुभएको छ– लड्नु असफलता होइन, अपितु हार मान्नु असफलता हो । किन हार मान्छौ तिमी बीउ हौ बीउ ।
सफल हुन चाहनेले आफैं जुर्मुराएर उठ्नुपर्छ । मधौरुले माड नखाँदासम्म उपचार लाग्दैन । तिर्खा लाग्दैमा खोला आउँदैन । खोला भेटिएन भनेर खोज्न छाड्नुहुँदैन । पानी नपिई त्यत्तिकै तिर्खा मेटिइँदैन । कसैले तपाईंलाई नदीसम्म लगे पनि पौडन तपाईं स्वयंले खुट्टा चाल्नै पर्छ ।