काठमाडौं । सिन्धुली प्रहरीले सस्तोमा डलर उपलब्ध गराउने प्रलोभनमा लुटपाट मच्चाउँदै आएको गिरोहलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ का २४ वर्षीय श्याम तामाङ, सोही ठाउँका २६ वर्षीय तेन्जेन पाईन र सोही ठाउँकै २७ वर्षीय नारायण बहादुर पाईन रहेका छन् ।
उनीहरुले इलामको इलाम नगरपालिका १ का ४४ वर्षीय राजु गौतमलाई अमेरिकी डलर आफुहरुसँग छ र सस्तोमा सटही गरिदिने भन्दै १३ गते दिउँसो गोलन्जोर गाउँपालिका ३ लौकुनमा बोलाएका थिए ।
जहाँ उनीहरुले डलर रुमालमा पोको पारी २० को नेपाली नोट र सादा कागजका टुक्राहरु दिई गौतमको साथमा रहेको १८ लाख रुपैयाँ नगद लिई तत्कालै फरार भएका थिए । आफू ठगिएको थाहा पाएपछि तत्कालै गौतमले प्रहरीमा खबर गरे ।
डलर साट्ने बहानामा ठगी भएको सूचना पाएपछि सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्ट हैवारवेसीको संयुक्त टोली खोजीकार्यको लागि परिचालन गरे ।
खोजतलास गर्दै जाँदा गोलन्जोर गाउँपालिका ६ स्थित हैवारवेसी नजिकै लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई करिब २ घण्टाको बीचमा प्रहरीले पक्राउ गर्न सफल भएको एसपी काफ्लले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट पीडितको लुटिएको १८ लाख रुपैयाँ नै सकुशल फेला पारेको छ । जसमा एक हजारको लक्ष्मी सनराइज बैंक लेखिएको ९ बन्डल, एक हजारको सिद्धार्थ बैंक लेखिएको २ बन्डल र ५ सायको सिद्धार्य बैंक लेखिएको १४ बन्डल बरामद भएको थियो ।
त्यस्तै उनीहरुको साथबाट १ हजार ३८० रुपैयाँ र २३७ अमेरिकी डलर बरामद भएको एसपी काफ्लेले बताए ।
त्यसैगरी उनीहरुको साथबाट ३५० सीसीको बा.प्र. ०२-०४४ प ४३०९ नम्बरको बुलेक मोटरसाइकल, बा.प्र. ०२-०४५ प ६३०२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र ५ थान विभिन्न कम्पनीको मोबाइल बरामद भएको छ ।
उनीहरुले यसअघि पनि अन्य व्यक्तिहरुलाई ठगी गरेको हुनसक्ने पाइएको छ । पक्राउ परेका पाँचै जनालाई ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
