काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिदैछन् । विश्वासको मत लिँदा त्यस प्रक्रियामा जसपाका सांसदहरूलाई सहभागी नगराउने उद्देश्यसहित जसपा नेपालका उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
यादवको वारेस भइ प्रकाश अधिकारीले आइतबार दायर गरेको रिटमा तीन वटा अन्तरिम आदेश माग गरिएको छ । जसमा, पहिलो नम्बरमै प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम लिने विश्वासको मतको मतदान प्रक्रियामा ७ देखि १३ सम्म सम्मका विपक्षी (अशोक राईसहित उनको पक्षमा लागेका सात सांसदहरू)लाई सरिक नगराउन माग गरिएको छ ।
त्यस्तै, प्रस्तुत रिटको अन्तिम किनारा नहुञ्जेलसम्म ती सांसदहरूलाई संघीय संसद्को कुनै पनि संसदीय गतिविधिमा सहभागी हुन नदिन पनि भनिएको छ ।
‘प्रतिनिधि सभाको सदस्य पद स्वतः गुमाइ सकेका पूर्व प्रतिनिधिसभाको सदस्यहरूलाई विश्वासको मतको प्रक्रियामा सहभागी गराइ विश्वासको मत लिन पुगेको अवस्थामा पनि त्यो मत प्रारम्भदेखि नै बदर हुने भएकोले त्यस्तो विश्वासको मतको मतदानलाई संविधानको धारा १०० को प्रयोजनक लागि विश्वासको मत प्राप्त गरेको भनि गणना नगर्नु नगराउनु’, रिट निवेदनमा भनिएको छ ।
यस रिटका लागि सोमबार नै पेसी तोकिएको छ ।
जसपा नेपाल विभाजन गरी गत वैशाख २३ मा अशोक राईले जसपा गठन गरेका थिए । सो दलले मान्यता समेत पाइसकेको छ । तर उपेन्द्र यादव सो पार्टीका सात सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नपाउन् भनेर सर्वोच्च पुगेका हुन् ।
