काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा कार्यरत प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुन सफल भएका छन् ।
ब्यूरोले दिएको जिम्मेवारी उत्कृष्ट तरिकाले निर्वाह गरी व्यावसायिक रुपमा इमान्दारितापूर्वक प्रशंसनीय ढंगबाट काम गरेको भन्दै सई सञ्जेललाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
वैशाख महिनामा सई सञ्जेलले खुंखार लागूऔषध कारोबारीहरुलाई गोली हानी समातेर कानुनी दायरामा ल्याएको लगायतका कामको उच्च मूल्यांकन गर्दै ब्यूरोमा गठन भएको छनोट समितिले सञ्जेललाई ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको हो ।
जबकी आफू मातहतको कार्यालय प्रमुखले एक कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट प्रहरी अधिकृतलाई उक्त कदरपत्र वितरण गर्ने गरिन्छ । तर, सई सञ्जेलले उक्त कदरपत्र ग्रहण गर्न पाएका छैनन् ।
ब्यूरोको विशेष अपरेशनमा काठमाडौं उपत्यका बाहिर रहेकाले सई सञ्जेलले उक्त कदरपत्र ग्रहण गर्न नपाएका हुन् । यता कदरपत्र पाउँदै गर्दा सई सञ्जेल थप लागूऔषध कारोबारी समात्नको लागि सुनसरीमा थिए ।
बिहीबार सुनसरीमा प्रहरीले दुई लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । सप्तरीको सप्तकोशी–५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल र सुनसरीको इटहरी नगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौलालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमध्ये मण्डलले प्रहरीलाई आक्रमण गर्न खोजेपछि खुट्टामा गोली हानेर पक्राउ गरिएको हो । सई सञ्जेल नेतृत्वको टोलीले नै गोली चलाएर उनीहरुलाई निण्न्त्रणमा लिएको हो ।
यस्तै गत मंगलबार मात्रै पनि प्रहरीले मोरङको रतुवामाई नगरपालिका कादुपाडामा गोली हानेर अर्का लागुऔषध कारोबारी समातेको थियो । भारतको बिहार, किसनगञ्ज घर भएका ४८ वर्षीय भागिरथ हरिजनलाई गोली प्रहार गरेर सञ्जेल नेतृत्वको टोलीले नै पक्राउ गरेको थियो ।
हरिजनमाथि खुट्टामा दुई राउण्ड गोली प्रहार गरेर १४९ ग्राम लागु औषध खैरो हेरोइन प्रहरीले बरामद गरेको थियो । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई नै लछारेर मोटरसाइकलमा भाग्न खोजेपछि गोली चलाउनु परेको ब्यूरोले जनाएको छ ।
यसरी पछिल्लो समय लागुऔषध कारोबारी गिरोहका नाइकेविरुद्ध प्रहरीले कारबाहीलाई तिव्रता दिएको छ । पछिल्लो दुई सातामा चार जनालाई गोली हानेको छ ।
सोहीक्रममा गत २७ वैशाखमा ब्यूरोको बाँकेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी २६ वर्षीय सुशील परियारलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
परियार र स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीसँग एक सय १४ ग्राम ब्राउन सुगर समेत बरामद भएको थियो । उनीहरुलाई गोली हानी नियन्त्रणमा लिने पनि सई सञ्जेल नेतृत्वको टोली नै थियो ।
त्यसैगरी १७ वैशाखमा झापामा पनि ब्यूरोकै टोलीले गोली चलाएको थियो । झापा गाउँपालिका-३ मा रहेका सरिफुल आलमलाई सई सञ्जेल नेतृत्वको प्रहरीले नै गोली हानी नियन्त्रणमा लिएको थियो ।
घरभित्र आलमलाई नियन्त्रणमा लिन खोज्दा खुकुरी र दाउले आक्रमण गरेपछि खुट्टामा गोली हानेर पक्राउ गरेको थियो । उनको साथबाट एक सय १६ ग्राम खैरो हेराइन भेटिएको थियो ।
चारै जनालाई ब्यूरोका सइ सञ्जेल नेतृत्वको टोलीले गोली हानेको ब्यूरोले जनाएको छ । नेपाल प्रहरीमा इन्टेलिजेन्स र अनुसन्धानमा पोख्त सई सञ्जेल प्रहरीमा इन्कान्टर स्पेशलिष्ट प्रहरीका रुपमा चिनिन्छन् ।
यसरी प्रहरीको गोली खाने चारैजना लागूऔषध कारोबारका नाइकेहरु भएको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्की बताउँछन् । गृह मन्त्रालयको नीतिअनुसार यसरी मुख्य कारोबारीमाथि आक्रामक कारबाही थालिएको प्रहरीले जनाएको छ ।
