काठमाडौं । पछिल्लो समय प्रहरी कार्यालयमा चिटिक्कको ई-लाइब्रेरी (व्यवस्थित पुस्ताकालय) हरू बन्न थालेका छन् । सोहीअनुरुप जिल्ला प्रहरी कार्यालय उदयपुरले लाइब्रेरी क्याफे सञ्चालनमा ल्याएको छ ।
प्रहरी मात्र नभई सेवाग्राहीलाई समेत सुविधा दिने गरी कार्यालयपरिसरमा लाइब्रेरी क्याफे सञ्चालनमा ल्याएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए ।
सहरी क्षेत्रमा लोकप्रिय बनेको लाइब्रेरी क्याफेको शैली पछ्याउँदै प्रहरी कार्यालयमै यस्तो चिटिक्कको क्याफे सञ्चालनमा ल्याएको हो । जसको उद्घाटन गत २८ वैशाखमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गरेका हुन्।
पठन संस्कृति बढाउने उद्देश्यले लाइब्रेरी स्थापना गरिएको एसपी थापाले बताए । ‘त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयसँगको सहकार्यमा इ–लाइब्रेरीसहित यस्तो क्याफे सञ्चालनमा ल्याएका हौँ,’ उनले भने ।
इ–लाइब्रेरीबाट करिब दुई करोड किताब पढ्न सक्ने सुविधा रहेको प्रहरीले जनाएको छ । यस्तो लाइब्रेरी क्याफेले नागरिक र प्रहरीबीचको सम्बन्ध पनि सुमधुर बनाउने एसपी थापा बताउँछन्।
यसअघि एसपी थापाले जिल्ला प्रहरी कार्यालय कास्की र गोरखामा कार्यरत रहँदा पनि लाइब्रेरी स्थापना गरेका थिए। पछिल्लो समय अन्य प्रहरी कार्यालयमा पनि लाइब्रेरी स्थापना हुन थालेको छ ।
