काठमाडौं । कतार विमानस्थलबाट अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन खोज्ने एक युवक पक्राउ परेका छन् ।
अपहरणको नाटक गरेर अर्काले पठाएको ७० ग्राम सुन र आइफोन पचाउन खोज्ने इलामको लक्ष्मीपुर–८ घर भएका ३९ वर्षीय सूर्यबहादुर समाल मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
गोदावरीस्थित सेन्ट जेभियर्स स्कुल नजिकै हातखुट्टा बाँधेको अवस्थामा फेला परेका मगरले अपहरणको नाटक गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
बिहीबार बिहान पौने ५ बजेतिर बाहिरी कपडा नभएको र हातखुट्टा बाँधेको अवस्थामा उनलाई देखेर स्थानीयले खबर गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो ।
जेठ १ मा बिहान कतारबाट सुन र आइफोन लिएर आएका मगर त्यसैदिन दिउँसो झापाको भद्रपुर गएका थिए । त्यहाँ सुन र मोबाइल लुकाएर काठमाडौं फर्केपछि उनले अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको छ ।
मगरले सुन लिएर आएको सुराक पाएपछि त्यसबारे अनुसन्धान गर्दा उनले अपहरणको नाटक गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।
