काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई महिनाको अवधिमा ५२ किलो भन्दा बढी सुन बरामद गरेको छ भने अवैध सुन ओसारपसार गर्ने २२ जनालाई पक्राउ परेका छन् ।
२०८० चैत र २०८१ वैशाख महिनामा विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी सशस्त्र प्रहरीले भन्सार दाखिला गरेको हो ।
त्यस्तै सशस्त्र प्रहरीले अवैध सुन ओसार–पसार गर्ने २२ जनालाई पक्राउ गरेसँगै ती मानिसको साथमा रहेको ११ करोड ५५ लाख ६० हजार २९० रुपैयाँ बराबरको सुन भन्सार र अदालतमा दाखिला गरेको छ ।
यस्तै सशस्त्र प्रहरीले चैत र वैशाखमा विशेष सूचनाको आधारमा अवैध ओसार–पसारमा संलग्न १७ वटा ठूला र १५ वटा साना गरी ३२ वटा सवारी साधन नियन्त्रणमा लिइ राजस्व अनुसन्धान विभाग र कार्यालयहरूमा पठाएको छ ।
सोही अवधिमा राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालयसँगको समन्वयमा संयुक्त रुपमा ९२ वटा ठूला र ५५ वटा साना गरी १४७ वटा सवारीसाधन नियन्त्रणमा लिइ राजस्व अनुसन्धान विभाग–कार्यालयहरूमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले चैतमा १२ करोड ७२ लाख एक हजार २१२ र वैशाख महिनामा १४ करोड ६० लाख २४ हजार ८८ रुपैयाँ बराबरको ९ अवैध रुपमा आयात निर्यात भएको र बिल बिजक नभएको सामान जफत गरी भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा दाखिला गरेको छ ।
चैतमा ११ करोड १८ लाख ३० हजार २६१ रुपैयाँ र वैशाखमा १३ करोड ८१ लाख ८९ हजार ९३१ रुपैयाँ गरी २५ करोड २० हजार १९२ बराबरको दाखिला गरेको छ ।
वैशाखमा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा बुझाइएको सामानको दाखिला मूल्य २७ करोड ३२ लाख २५ हजार ३०० रहेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ९.२८ प्रतिशतले बढी हो । चैत महिनाको तुलनामा वैशाखमा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयमा दाखिला गरिएको सामानको मूल्य १४.७९ प्रतिशत बढी हो ।
चैत र वैशाखमा ३४ करोड २० लाख ४ हजार ३५ रुपैयाँ बराबरको सामान भन्सार–राजस्व अनुसन्धान कार्यालयमा सशस्त्र प्रहरीले दाखिला गरेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३६.७९ प्रतिशतले बढी हो ।
चैतमा कूल ४० करोड ६६ लाख १० हजार ७३ रुपैयाँ बराबरको राजस्व दाखिला भएको छ । यस्तै वैशाखमा कूल ५२ करोड ९७ लाख ७ हजार २५३ रुपैयाँ बराबरको गरी उक्त अवधिमा कुल ९३ करोड ६३ लाख १७ हजार ३२६ रुपैयाँ बराबरको राजस्व रकम दाखिला भएको छ ।
अवैध मालसामान बरामद चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायतबाट राजस्व संकलन भएको हो ।
तीमध्ये अवैध मालसामान ओसार–पसार गर्ने ८९ जना मानिस पक्राउ गरिएको र सोबापत ३४ करोड ६९ लाख ८९ हजार ५३१ रुपैयाँ बराबरको सामान भन्सार–राजश्व अनुसन्धान विभागमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । ट्राफिक जरिवाना बापत ३० करोड ५६ लाख ४६ हजार ९५६ रुपैयाँ राजस्व खातामा दाखिला भएको छ ।
चैत र वैशाखमा गैरकानूनी कार्यमा संलग्न एक हजार ८१८ जना कानूनी दायरामा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । गत आर्थिक वर्षको चैत र वैशाख महिनामा कूल ७९ करोड ११ लाख ६० हजार ३३२ रुपैयाँ बराबर राजस्व दाखिला भएकोमा यो आवको चैत र वैशाखमा दाखिला भएको कूल ९३ करोड ६३ लाख १७ हजार ३२६ रुपैयाँ बराबरको राजस्व दाखिला भएको छ ।
यसबाट अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको सोही अवधिमा १८.३५ प्रतिशतले राजस्वमा वृद्धि भएको छ । चैतको तुलनामा वैशाख महिनामा ३०.२ प्रतिशतले राजस्वमा वृद्धि भएको हो ।
राजस्व चुहावट र सीमा अपराध नियन्त्रणका विषयमा उद्योगी व्यवसायीसँग मोरङ र पर्सामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । सीमा इलाकामा अवैध रुपमा भण्डारण गरी राखिएका गोदामहरूको खोज–तलास गरी आधिकारिक निकायसँगको समन्वयमा छापा हानी अवैध सामान नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाएको सशस्त्रले जनाएको छ ।
‘पछिल्लो दुई महिनाको अवधिमा पाँच स्थान छापा हानी अवैध सामानहरू बरामद गरेको छ । योसँगै गत वर्ष १३ स्थानमा छापा हानेको छ,’ सशस्त्रले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
साथै सशस्त्र प्रहरीले सीमा सुरक्षा, अवैध निकासी पैठारी नियन्त्रण तथा सीमा अपराध नियन्त्रणका लागि भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा चौबीसै घण्टा गस्ती गर्ने गरेको छ । अवैध चोरी तस्करी हुने मुख्य नाकाहरूमा पिकेटरगस्ती चौबीसै घण्टा खटाउनुका साथै सीमा अपराध नियन्त्रण तथा अवैध निकासी पैठारी नियन्त्रणका लागि सीमावासीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालनसमेत गरेको छ ।
सीमा जोडिएका जिल्लाहरूमा खटिएका कमान्डरहरूलाई प्रधान कार्यालयमा झिकाई सशस्त्र प्रहरीले चुहावट नियन्त्रणका लागि आवश्यक निर्देशन पनि दिएको छ ।
यसअघि सरकारका सुरक्षा निकायहरूबीचमै समन्वय नहुँदा राजस्व घटेको भन्दै गृहसचिव एकनारायण अर्यालले राजस्व वृद्धि गर्ने तर्फ ध्यान दिन निर्देशन दिएका थिए ।
