तुलसीपुर । दाङमा बहुविवाह गरेका एकजना आरोपीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ जिल्ला अदालतले घोराही-१५ तुलसीपुर चोक निवासी सरोज पौडेललाई वहु विवाहको आरोपमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।
पौडेल मुद्धा दर्ता भएपछि भागेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले पौडेललाई फरार सुचीमा राखेर घटनावारे अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय घोराहीलाई फाइल बुझाएको थियो । आफै फरार रहेका पौडेल गएको वैशाख २५ गते अदालतमा हाजिर भएका थिए ।
जिल्ला न्यायधीश तारा शर्माको एकल इजलाशले थुनछेककाक्रममा मुद्धाको अन्तिम टुङ्गो नलाग्दा सम्म पौडेललाई तत्कालको प्रमाणको आधारमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो । पौडेल अदालतको आदेश अनुसार कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए ।
अदालतले आफ्नो जेठी पत्नी हुँदाहुँदै सम्वन्ध विच्छेद नगरेर विदेश जाने लोभमा कान्छि श्रीमतिसंग विवाह गरेर सम्वन्ध विच्छेद गरेको कागजलाई प्रमाणकोरुपमा लिएको छ । अदालतमा पिडित महीलालले आफुलाई कुटपिट गरेर खानलाउन नदिई घरवाट निकाला गरेको वयान दिएकी छिन् ।
यसअघि प्रहरी र सरकारी वकिललाई दवाव दिएर पौडेललाई वहुविवाहको आरोपवाट उन्मुक्ती दिने प्रयास गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालय दाङले पनि बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।
यस वारेमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उच्च सरकार वकिल कार्यालयले जिल्ला सरकारीको निर्णय उल्ट्याउदै घटना अनुसन्धान गरेर मुद्धा दर्ता गर्न निर्देशन दिएको थियो ।
