काठमाडौं । कास्कीको पोखरामा सञ्चालित स्पा (मसाज) सेन्टरहरुमा बालिकाहरुलाई बन्धक बनाएर यौन व्यवसायमा लगाउने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले त्यसरी यौन व्यवसायमा लगाउने गरेका ६ जना बालिकाहरुको उद्दार गरेको छ । उनीहरूलाई पोखराको ५ वटा स्पाबाट उद्दार गरिएको हो ।
त्यहाँ बालिकालाई ल्याएर बन्धक बनाई यौन धन्दामा लगाउने गरेको गोप्य सूचनाको आधारमा ती स्पाहरु अनुगमन गर्दा १८ वर्षमूनिका ६ जना बालिकाहरु भेटिएको कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार सेन्टर प्वाइन्ट स्पाबाट २ जना, हिमालयन स्पाबाट १ जना, पारामाउन्ट स्पाबाट १ जना, न्यू भिजन स्पाबाट २ जना बालिकाहरु र गड विल स्पाबाट एकजना १८ वर्षमाथिको एक किशोरीको उद्दार गरिएको हो ।
पोखरा महानगरपालिका ६ लेकसाइडमा सञ्चालित ति स्पाहरुमा बालिकाहरुलाई सञ्चालकहरुले जबरजस्ती यौनकार्यमा लगाउने गरेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीको टोली ती स्पाहरुमा पुगेको थियो ।
उक्त कार्यमा संलग्न व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
