काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले धार्मिक आस्था एवं विश्वासले मानिसलाई सकारात्मक उर्जा प्रदान गर्ने, हौसला मिल्ने र गलत क्रियाकलाप गर्नबाट रोक्नुका साथै कार्य बोझबाट हुने तनाव कम गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा नव-निर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मृति उद्यान र द लाइब्रेरी क्याफेको उद्घाटन गर्दै आईजीपी कुँवरले सो कुरा व्यक्त गरेका हुन् ।
उद्घाटन पश्चात महानिरीक्षक कुँवरले नव-निर्मित मन्दिरले प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शान्ति मिल्नुका साथै आफ्नो कार्य सम्पादनमा पेशागत दायित्व निर्वाह गर्न, सतमार्ग र सदविवेक प्रयोग गर्न अन्तस्करण भावनाको बृद्धि हुने बताए ।
प्रहरी महानिरीक्षक कुँवरले रचनात्मक सोचले निर्माण गरिएको क्याफेले प्रहरी र नागरिक बिचको सम्बन्धलाई नजिक बनाउन सेतुको भुमिका निर्वाह गर्नुका साथै प्रहरी कर्मचारीहरूमा पठन पाठनको विकास हुने विचार व्यक्त गरे ।
बौद्धिक जगतका व्यक्तित्वहरूसँग शान्ति सुरक्षा सम्बन्धी समसामयिक विषयवस्तुमा बौद्धिक मन्थन एवं चिन्तन गर्ने थलोको रूपमा लाइब्रेरी क्याफे प्रभावकारी हुने उनले उल्लेख गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट प्रहरी कर्मचारी र प्रहरीलाई सहयोग गर्नु हुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा तथा ८० वर्षभन्दा बढि उमेर भएका पूर्व प्रहरी कर्मचारीहरूलाई दोसल्ला ओढाई सम्मान गरे ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले मन्दिर निर्माण भएबाट प्रहरी कर्मचारीहरूमा सकारात्मक उर्जाको प्रवाह भई कार्य क्षमतामा वृद्धि हुने चर्चा गर्दै नयाँ परिकल्पना स्वरूप रहेको लाइब्रेरी क्याफेबाट ज्ञानगुनका साथै नयाँ ऐन, नीति, नियम, कानूनको बारेमा जानकार रहन अवसर मिल्ने बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले धन्यवाद ज्ञापन गरेका उक्त कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा. कैलाश कुमार राई, त्रियुगा नगरपालिकाका उप-प्रमुख महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनाम, विभिन्न स्थानिय पालिकाहरूका प्रमुख, जन-प्रतिनिधिहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय भद्र भलादमी, नागरिक समाजका प्रतिनिधिहरू, पुर्व प्रहरी कर्मचारीहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैह्र-सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
