काठमाडौं । कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) ले विद्यालय सञ्चालनमा ल्याएको छ ।
शुक्लाफाँटा नगरपालिका(५ स्थित नेपाल एपिएफ विद्यालय झलारी सञ्चालनमा आएको हो । सोमबार एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले विद्यालयको उद्घाटन गरे ।
सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कञ्चनपुरमा पहिलो पटक एपिएफ विद्यालय सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नं ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर रावलले जानकारी दिए ।
एसपी रावलकाअनुसार सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले शैक्षिक सत्र २०८१ देखि पठनपाठन सुरु गरेको हो । कक्षा चार र कक्षा पाँचको पठनपाठन सुरु गरिएको विद्यालयमा एक सय पाँचजना विद्यार्थी भर्ना भएका छन् ।
झलारीमा एपिएफ विद्यालय वि.सं. २०८० फागुन २ मा स्थापना भएको थियो । सुविधा सम्पन्न चारतले भवन निर्माण सम्पन्न भएपछि पठनपाठन थालिएको हो ।
