काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनले यस्तो बताएका हुन् ।
आईजीपी कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए ।
वार्षिक लक्ष्य हासिल गर्न कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेकोमा उनले जोड दिए ।
कार्ययोजनाअन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउदै उनले वार्षिक लक्ष्यअनुसार मातहत कार्यालयहरूले कार्यसम्पादन गरे नगरेको उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूले नियमित अनुगमन मूल्यांकनलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रहरी कर्मचारीहरूको आचरण व्यवहारमा आउने सुधारसँगै आम नागरिकले राख्ने गुनासोमा स्वतः कमी आउने तथ्यलाई समेत ध्यानमा राखी कार्यसम्पादन गर्न प्रदेश तथा जिल्ला तहका कमाण्डरहरूलाई उनले निर्देशन दिएका छन् ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ–आफ्नो प्रस्तुती गरेका थिए ।
यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले समेत आ(आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरूबारे सम्पन्न भएका कार्यहरू लगायतका विषयहरू समेटिएका थिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘अपराध अनुसन्धान दिग्दर्शन’ पुस्तकको विमोचन पनि गरेका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
