काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत एघारौँ डफ्फालाई बदली गर्न जान लागेको टोलीलाई विदाई गरेका छन् ।
शुक्रबार प्रधान कार्यालय हल्चोकमा विदाई गर्दै आईजीपी अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित एवं सामूहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय मिशनमा संगठन र राज्यको प्रतिनिधित्व गर्दै परिचालन हुने हुँदा बिभिन्न देशका सुरक्षाकर्मीहरुसँग आपसी समन्वय तथा सहकार्य गरी कुशलतापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मूल्याङ्कनको फलस्वरुप एफपीयू मिशनमा छनौट भएको बताए ।
मिसनमा खटिई जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले समेत शुभकामनासहित बिदाई गरेका थिए ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रविनराज कर्णजितको कमाण्डमा १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु वैशाख २३ गते राती त्यसतर्फ प्रस्थान गर्नेछन् ।
