काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर भोलि अर्थात बुधबार स्वदेश फर्किदैँछन् । आईजीपी कुँवर स्वदेश फर्कनासाथ प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाको तयारी अघि बढ्नेछ ।
बढुवाको लागि चार टोली २०५१, २०५२, २०५३ र २०५४ को प्रतिस्पर्धामा छ । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेल पहिलो नम्बरमा छन् । उनी २०५३ को टोली हुन् ।
त्यस्तै भोला रावल, ध्रुवराज राउत र गणेश चन्द पनि डिआईजी बढुवाको प्रतिस्पर्धी हुन् । उनीहरु हालका आईजीपी कुँवरका ब्याचमेट हुन् । उनीहरु २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् ।
त्यस्तै २०५३ का टोलीहरु सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर र उमा चतुर्वेदी पनि डिआईजी बढुवाको प्रतिस्पर्धीहरु हुन् । उनीहरु राअविबाट नेपाल प्रहरीमा आएका हुन् ।
यस्तै २०५४ का दाबहादुर कार्की, डा. मनोज केसी, राजन अधिकारी, जीवन कुमार श्रेष्ठ छन् । उनीहरु पनि डिआईजी बढुवाको दौडमा छन् । यसरी चारवटा टोली डिआईजी बन्न कसरत गरिरहेका छन् ।
यो टोलीबाट कार्यसम्पादन क्षमतामा समेत अब्बल रहेका अधिकृतहरुलाई आईजीपी कुँवरले नेतृत्व विकास गर्नेगरी डिआईजी बढुवाको तयारी गरेको आईजी सचिवालयका एक सिनियर अधिकृतले जानकारी दिए ।
जसमध्ये पहिलो नम्बरका शर्मा, राठौर, कार्की, केसी र श्रेष्ठ संगठनमा अब्बल प्रहरी अधिकृतको रुपमा परिचित छन् । जसकारण उनीहरु गृहमन्त्री रवि लामिछानेको रोजाईमा समेत परेका छन् । तर, प्रहरीमा ३ वटा मात्र डिआईजी पद रिक्त छ ।
त्यसैले यी ५ जनामध्ये कसलाई गर्ने नगर्ने भनेर गृहमन्त्री लामिछाने र आईजीपी कुँवरले छनौट गर्न गाह्रो परेकाले डिआईजी बढुवा एकदम पेचिलो बन्ने अवस्था छ । जेष्ठताको आधारको भन्दा पनि कार्यकुशलता हेरेर बढुवा गर्नुपर्ने पक्षमा प्रधानमन्त्रीसमेत रहेको स्रोत बताउँछ ।
