काठमाडौ । चितवन प्रहरीले विभिन्न मितिहरुमा चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि मोबाइल धनीलाई हस्तान्तरण गरेको छ । हराएको विभिन्न कम्पनीका ४५ थान मोबाइलहरु फेला पारी आज (मंगलबार) सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको हो ।
एक महिनाको अवधिमा हराइएको ४५ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) भाबेश रिमालले जानकारी दिए ।
एसपी रिमालले भने, ‘चितवन जिल्लालगायत काठमाडौ, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही, महोत्तरीलगायतका जिल्लाहरूका अन्य व्यक्तिहरुले चलाइरहेको अवस्थामा हराएका तथा चोरी भएका ४५ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएका हौ ।’
भेटिएको मोबाइलहरु iphone, Samsung, Redmi, Oppo, Vivo, Poco लगायतको रहेको एसपी रिमालको भनाइ थियो । आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसँगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए ।
पछिल्लो समय चितवन प्रहरीले आफ्नो सक्रियता बढाएसंँगै चोरी भएका तथा हराएका थुप्रै मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाउन सफल भएको छ ।
