काठमाडौं । सोमबार काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको रुपमा प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जिम्मेवार सम्हाले । उनले कमाण्ड सम्हालेको २४ घण्टा नबित्दै कार्यालयले दुई ठूलो काममा सफलता हात पारेको छ ।
एसएसपी भट्टराईले कमाण्ड सम्हालेको कार्यालयले विभिन्न प्रलोभन देखाएर विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका सदस्यहरूलाई पक्राउ गर्न सफल भएको छ भने अपहरण तथा शरीर बन्धक कार्यमा सलग्न व्यक्तिहरुलाई समेत कार्यालयले पक्राउ गरेको छ ।
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका मुख्य अभियुक्त धादिङका रमेश बयलकोटी रहेको एसएसपी भट्टराईले बताए । पक्राउ पर्नेमा अर्का सञ्चालक कालिकोट छाप्रे–६ घर भएका दर्शन नेपाली छन् ।
उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, क्रोयसियासमेतका देशहरुमा पठाउने भनी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरुमा पठाउने भनी आफ्नो नक्कली नाम बताई अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई सिमकार्डसमेत निकाली ४२२ जनालाई ठगी गरेको पाइएको एसएसपी भट्टराईले बताए ।
एसएसपी भट्टराईले भने, ‘उनीहरुले करिब ३ करोडभन्दा बढी रकम उठाएको खुलेको छ । भिसा प्लस कन्सल्टेन्सीका नाममा ठगी धन्दा चलाउँदै आएको गिरोहले न्युजिल्यान्ड पठाउने नाममा जनही १७ तथा रोमानिया पठाउने नाममा ७ लाखसम्म ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।’
सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको अवसर रहेको भनी विज्ञापन पोस्ट गरी कन्सलटेन्सीमै बोलाउने गरेको र प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताई सुरुमा ५० हजारदेखि ३ लाखसम्म लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भिसा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाई रकम लिने गरेका थिए ।
महाराजगञ्जको कन्सलटेन्सीबाट थान २० र दर्शन नेपालको जडिबुटीस्थित कोठाबाट २१ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानी लगायत १८२ जनाको रेकर्ड फाइल बरामद गरेको पनि एसएसपी भट्टराईले बताए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै कार्यालयले अपहरण मुद्दामा सर्लाही मलगवा नगरपालिका- ३ काठमाडौ सिनामंगल बस्ने २५ बर्षका अजिम अली र सोही ठाउँका बर्ष २५ का एम.डी.सनी. अलाही रहेका छन् । उनीहरुलाई कार्यालयले आज बिहान नियन्त्रणमा लिएको हो ।
उनीहरुले हिजो अर्थात १७ गते कतारबाट नेपाल आएका सप्तरी राजविराज नगरपालिका-१३ घर भएका सितेन्द्र यादवको अपहरण गरेका थिए । अपहरण पश्चात उनीहरुले यादवसँग चार लाख ८० हजार फिरौती माग गरेको पाइएको छ ।
सितेन्द्रले आफू अपहरणमा परेको र मुक्त हुन अपहरणकारीले फिरौती मागेको कुरा श्रीमतीलाई जानकारी गराएपछि उनको श्रीमतीले तत्कालै प्रहरीमा खबर गरेकी थिइन् । पिडितको खोजी गर्ने क्रममा सितेन्द्रलाई कार्यलयबाट खटिएको प्रहरी टोलीले सिनामंगलबाट उद्दार गरिएको एसएसपी भट्टराईले बताए ।
विदेशबाट आउँदा उनले २५ ग्राम सुन ल्याएको र सोही सुन लुट्ने उद्देश्यले सितेन्द्र यादवको अपहरण गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको छ ।
एसएसपी भट्टराईले कार्यालयको कमाण्ड सम्हालेको २४ घण्टा नबित्दै यी दुई ठुला घटनामा प्रहरीले सफलता हात पारेको हो ।
