काठमाडौ । सोमबार अपरान्ह झापामा प्रहरीले गोली हानी एकजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले झापा गाउँपालिका-४ स्थित खैरबारी बस्ने बर्ष २५ को सरिफुल आलमलाई नियन्त्रणमा लिएको हो ।
करिब ६ बजेको समयमा झापा गाउँपालिका-३ कामाटोली स्थित अक्कल बहादुर बिश्वकर्माको घरको तेस्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली त्यहाँ पुगेको थियो ।
जहाँ आलमलाई नियन्त्रणमा लिन खोजेपछि आफ्नो साथमा रहेको दाउ र खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षा स्वरुप प्रहरीले गोली चलाउन बाध्य भएको हो । गोली प्रहारबाट आलमको बाँया खुट्टाको तिघ्रा र पिडुलामा चोट लागेको छ ।
उनीमाथि २ राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए । एसपी केसीका अनुसार उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ थान १ र खुकुरी थान १ बरामद भएको छ ।
घाइते उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचार भइरहेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
