काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालयको कमाण्ड प्रहरी नायब महानिरीक्षक (डिआईजी) दुर्गा सिंहले सम्हालेकी छन । सोमबार पोखरा पुगेकी सिंहले प्रदेशको प्रहरी कमाण्ड सम्हालेकी हुन् ।
यसअघिका डिआईजी विकासराज खनाल अनिवार्य अवकाशमा गएपछि सिंहलाई सरुवा गरेर गण्डकी प्रदेश पठाइएको थियो । सिंह उपत्यका प्रहरी रानीपोखरी काठमाडौंमा कार्यरत थिइन् ।
नेपाल सरकार, (माननीय उप(प्रधानमन्त्री तथा गृह मन्त्रीस्तर) को मिति २०८१ वैशाख १३ गतेको निर्णयानुसार सिंहको उपत्यका प्रहरी रानीपोखरी काठमाडौंबाट गण्डकी प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई गएकी डिआईजी सिंहलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्पगुच्छासहित कार्यालयमा स्वागत गरिएको हो ।
पदभार ग्रहण पश्चात डिआईजी सिंहले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा वृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप सञ्चालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएकी थिइन् ।
