लालबन्दी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका-५ टुटेश्वर जंगलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीकी एक युवतीको मृत्यु भएको छ ।
बिहान ८ः५० बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक बागमती नगरपालिका १२ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटाको मृत्यु भएको हो । मृतक कार्कीको माइती लालबन्दी नगरपालिका-४ घरभवन हो ।
करिव १ वर्षअघि मात्रै उनको विवाह भएको थियो ।
कार्की आमा ५० वर्षीया उषा कार्कीलाई मोटरसाइकल पछाडि राखेर बर्दिवासतर्फ गइरहेकी थिइन् । सोहीक्रममा आमा उषाले ओढेको सल मोटरसाइकलको पछाडिपट्टीको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई पल्टिएको बर्दिवास प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते स्मृतिलाई उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिवास पुर्याइयो । अवस्था गम्भीर हुँदै गएपछि सघन उपचारका लागि जनकपुरस्थित काब्या अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
कार्कीको चिउँडो, टाउकोलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । डिएसपी पोखरेलका अनुसार मोटरसाइकल पछाडि सवार मृतककी आमा उषालाई जनकपुरबाट थप उपचारका लागि काठमाडौंतर्फ लगिएको छ ।
उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
