काठमाडौं । कालिकोटका राजबहादुर मल्ल हत्या प्रकरणका मुख्य आरोपी ‘टाइगर’ भनिने पदमबहादुर रावत भारतबाट पक्राउ परेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको उक्त हत्या घटनाका मुख्य आरोपीलाई प्रहरीले १६ वर्षपछि भारतबाट पक्राउ गरेको हो ।
२०६५ फागुन २६ गते बेलुका हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप लागेका कालिकोटको महावै पदमबहादुर रावतलाई प्रहरीले भारतको हिमाञ्चल प्रदेशबाट पक्राउ गरेर ल्याएको हो । रावतलाई बुधबार सुर्खेत ल्याइ पुर्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मल्लको हत्या घटनामा टाइगरसहित अखिल क्रान्तिकारीका अध्यक्ष सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भनिने वीरबहादुर मल्ल र अशोक भनिने अली कार्कीविरुद्ध बुवा नन्दबहादुरले २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए ।
सुर्खेत प्रहरीमा किटानी जाहेरीमा नाम उल्लेख भएका छ जनाविरुद्ध पक्राउ पुर्जीका लागि अदालत पुगेको थियो । अदालतले माघ ७ गते पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले त्यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पनि पक्राउ पुर्जी लिएको थियो । जिल्ला प्रहरी कार्यालयकाअनुसार रावतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
‘किटानी जाहेरीमै मुख्य अभियुक्त भनेर उल्लेख गरिएकाले उनको खोजीमा थियौँ, भारतको हिमाञ्चल प्रदेशमा रहेको जानकारीपछि भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरेर ल्याएका छौँ ।’ घटना अनुसन्धानकै क्रममा रहेकाले थप विवरण खुलाउन नमिल्ने प्रहरी स्रोत बताउँछ ।
