काठमाडौं । १५ वैशाखमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन सुरक्षित र भयरहित वातावरणमा सपन्न गर्न प्रहरीले आवश्यक तयारीसहित आन्तरिक तथा बाह्य योजना बनाएको छ ।
त्यसका लागि प्रहरीले मतदानस्थलदेखि मतगणना स्थलसम्म भरपर्दो एवं मजबुद सुरक्षा व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता एवम् डीआईजी भिम प्रसाद ढकालले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
निर्वाचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता ढकालले बताए ।
उपनिर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालिन हुनेछन् । इलाममा १ हजार ३६३ जना र बझाङमा १ हजार २४ जना प्रहरी परिचालिन गरिने डीआईजी ढकालले बताए ।
४२ वटा मतदानस्थललाई अति संवेदनशील भनेर वर्गीकरण गरिएको छ । इलाममा १९ र बझाङमा २३ मतदानस्थललाई अति संवेदनशील वर्गीकरण गरिएको हो । अति संवेदनशील मतदानस्थलमा १२ देखि १७ जना प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ ।
मतदान केन्द्रमा हिंसात्मक गतिविधि हुने पूर्वसूचना पाएमा, झगडा भएर मतपेटिका तहसनहस हुने अवस्थामा आएमा, मतदान केन्द्रमा सशस्त्र आक्रमण हुने अवस्था आएमा प्रहरी कर्मचारीले बल प्रयोग गर्न सक्नेछन् ।
सम्भावित खतराहरु
–निर्वाचन विरोधी दल र समूहका गतिविधि ।
–निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य ।
–बुथ कब्जा गर्ने ।
–पैदल तथा सडकमार्गहरुमा अवरोध गर्ने ।
–डर, धाक, धम्की, तोडफोड, अपहरण, आगजनी, हत्या आदी ।
–अफवाह फैलाउने, सुरक्षाकर्मीलाई Misguide गर्ने ।
–निर्वाचन प्रक्रियामा अवरोध गर्ने ।
–आचारसंहिताको उलङ्घन ।
–आवश्यक निर्वाचन सामग्री समयमा नै पुग्न नसक्नु ।
–निर्वाचन सामग्री तोकिएको ठाउँमा नपुगी अन्यत्र पुग्नु ।
– खटिएका कर्मचारीबाट हुन सक्ने मानवीय त्रुटि, गैह्र व्यावसायिक कार्य र आचरण एवं आपसी समन्वय नहुनु ।
–मतपेटिका र अन्य निर्वाचन सामग्रीको अव्यवस्थित व्यवस्थापन, भण्डारण तथा हुन सक्ने दुरुपयोग ।
