काठमाडौं । ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले २०४१ साल भदौ ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफारहित संस्थाको स्थापना भएको हो । यस संघको प्रधान कार्यालय भृकुटीमण्डप काठमाडौंमा रहेको छ ।
श्रीमान् प्रहरी महानिरीक्षक भएपछि स्वतः श्रीमती सघंको अध्यक्ष बन्ने परम्परा छ । जसकारण प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको श्रीमती लक्ष्मी कुँवर हाल संघको केन्द्रीय अध्यक्ष छिन् ।
अध्यक्ष कुँवरले २०७९ चैत ११ गतेदेखि संघको कार्यभार सम्हालेकी हुन् । कुँवरको ११ महिनाको कार्यकालमा संघले शिक्षा, स्वास्थ्य, खेलकूद, आर्थिक क्षेत्रको सुधार, विकास र उन्नतिका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
यस संघले आफ्नो कार्यकालमा प्रहरी परिवारका महिलालाई मात्र नभएर समग्र महिलाको सीप विकास, आयआर्जन र क्षमता अभिवृद्धिको क्षेत्रमा काम गर्दै आइरहेको कुँवर बताउँछिन् ।
‘अमर प्रहरी, घाइते, दीर्घ रोगी आदिका परिवारलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहाराविहीन वृद्धवृद्धालाई राहत सहयोग तथा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आइरहेका छौँ’, उनी भन्छिन् ।

उनले आवश्यकताका आधारमा आफूहरुले देशका विभिन्न ठाउँमा रहेका अनाथ, वालवालिका, वृद्ध, असाहय, गरिव र दुःखीहरुलाई सहयोग गर्दै आएको समेत बताइन् । ‘अनाथ, गरिब दुःखीलाई सहयोग गर्दा आनन्द मिल्ने गर्छ,’ उनले भनिन् ।
संघले गत माघ २६ मा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको थियो । देशका कर्णधार र भविष्य बोकेका अनाथ बालबालिकालाई सहयोग गर्न पाउँदा मन निकै हर्षित भएको अध्यक्ष कुँवरको भनाइ थियो ।
यस्तै संघले २०८० माघ १४ गते नयाँ बसपार्क गोंगबु, काठमाडौंमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक (समान युग) नाटक प्रदर्शनी कार्यक्रम आयोजना गर्यो । जुन उपलब्धीमुलुक नाटक थियो ।
त्यसैगरी माघ १३ गते आईजीपी बसन्त बहादुर कुँवरको उपस्थितिमा संघले मानवताका लागि एकताको भावना अनुरूप ७ बर्ष अगाडी चितवनमा स्थापित ‘बालबालिकाहरूका लागि प्रहरी नागरिक अभियान नेपाल’ (पिटूसिटू) का २९ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री, न्यानो कपडा (ब्लाङ्केट, ट्रयाकसुट, जुत्ता मोजा, टोपी) वितरण गरेको थियो ।
यसैगरी, संघले रोगबाट ग्रसीत बिरामीहरुलाई समेत आर्थिक सहयोग प्रदान गरेको छ । माघ ८ गते संघको कार्यसमितीको बैठकको निर्णयानुसार लामो समयदेखि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार गरिरहेकी नेपाल प्रहरीमा कार्यरत २४ वर्षीया प्रहरी जवान आयुष्मा पुन मगरलाई आर्थिक सहयोग गरेको थियो ।

जतिबेला संघकी अध्यक्ष कुँवरलगायत अन्य पदाधीकारीहरुले पुन मगरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संघको तर्फबाट कलेजो प्रत्यारोपणका लागि २५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
त्यतिमात्र नभएर नेपाल प्रहरी अस्पतालको कोल्ड वार्डमा रहेका घाइते प्रहरी कार्यालय सहयोगी शिव शंकर ओडलाई समेत प्रत्यक्ष भेटघाट गरी शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संघले ३९ हजार १०९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।
यसरी संघले विभिन्न क्षेत्रमा दुःखमा परेका व्यक्तिहरुको घाउमा सकेको मलह्म लगाउने कोसिस गर्दै आइरहेको छ । जुनकुराको चौतर्फी प्रशंसा भएको छ । त्यतिमात्र नभएर विभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।
यस्तै, संघले आफ्नो स्थापना दिवस र आफ्नो मातहत रहेका आसरा सुधार केन्द्र, शिशु स्याहार केन्द्रलगायत संस्थाको वार्षिकोत्सवसमेत सम्पन्न गरिसकेको अध्यक्ष कुँवरको भनाइ छ ।
संघले महिला लागुऔषध प्रयोगकर्ताको उपचार, परामर्श तथा पुनःस्थापना कार्यका लागि अभियान समेत चलाएको छ । कैलालीको धनगढीमा लागुऔषध प्रयोगकर्ताको उपचार, परामर्श तथा पुनःस्थापना गर्न मिल्ने गरी आसरा सुधार केन्द्रको शाखा विस्तार समेत गरिएको छ । उक्त शाखाको प्रहरी महानिरीक्षक कुँवरले उद्घाटन गरेका थिए ।

यसअघि संघको पहलमा विसं २०५४ मा आसरा सुधार केन्द्र रानीबारी स्थापना भएको थियो । सो केन्द्रमा अहिले १०० बढी लागुऔषध प्रयोगकर्ताले सेवा लिइरहेका छन् भने हजारौँले सेवा लिएर घर फर्किसकेका छन् ।
संघकी अनुश्री पाख्रिनले आगामी दिनमा पदाधिकारी तथा सदस्यलाई संघको जिम्मेवारी बाँडफाँड गरी विषयगतरूपमा सबैलाई क्रियाशील गराउने लक्ष्य संघले लिएको बताउँछिन् ।
