काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरूको हालत खराब छ । त्यसमाथि चोरीका घटना बचतकर्ताकै सम्पत्तिमाथि धावा बोल्ने कार्य हो । झापामा एक दुई मात्र होइन दर्जन सहकारीमा योजनाबद्ध चोरी गर्ने ६ जनाको गिरोह पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी-८ का २८ वर्षीय अजय राना मगर छन् ।
उनीहरू मिलेर झापा जिल्लाका १३ वटा सहकारीहरूमा योजनाबद्ध रूपले चोरी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । झापा प्रहरीका अनुसार उक्त समूहले विभिन्न मिति र समयमा १३ वटा सहकारीहरूमा योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।
सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरीमा सूचना आएपछि प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र सुनसरी जिल्ला प्रहरीको सहकार्यमा अनुसन्धान, खोजतलास गर्दा प्रहरीले उनीहरूलाई इटहरीको विभिन्न स्थानबाट वैशाख ७ गते पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको विभिन्न औजारहरू र उनीहरूले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरामद गरेको छ ।
उनीहरूले सहकारीहरूबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गरेका खुलेको छ । पक्राउ परेका ६ जनालाई जिल्ला अदालत झापाबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी झापाले जनाएको छ ।
