काठमाडौ । सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाश बहादुर चन्द्रविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा दायर गरेको हो ।
सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटी दरबन्दी भएका चन्दले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको देखिएकाले मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।
उनले भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरेको खुल्न आएको अख्तियरका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
`हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ´, घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
