काठमाडौं । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकाललगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन् ।
हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।
