काठमाडौँ । नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्टका तालिमरत ३५ जना अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको अवलोकन भ्रमण गरेका छन् ।
आइतबार अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले स्वागत गर्दै भ्रमण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए ।
सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्रहालय समेतको अवलोकन गरे ।
अवलोकन पश्चात् आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गरे ।

विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको चर्चा गर्दै उनले समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आउँदा दिनमा समेत अझ प्रभावकारी ढङ्गले यसको निरन्तरता हुने बताए ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र नेपाली सेनाका सहायक रथी दीपेश जंग शाहले कृतज्ञताको चिनो आदान प्रदान गरेका थिए ।
तालिमरत अधिकृतहरूमा ३ जना महिला र ३२ जना पुरुषको साथै ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिताको रहेको थियो ।

