काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको पहलमा अवकाशप्राप्त प्रहरी कर्मचारी र तिनका परिवारले बहालवाला प्रहरी कर्मचारीसरह स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।
प्रहरीको नीति निर्माण समिति तथा प्रहरी कल्याण कोष सञ्चालक समितिले आउँदो साउनदेखि अवकाशप्राप्त कर्मचारी र तिनका परिवारलाई बहालवाला कर्मचारीसरह स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
यो निर्णयसँगै अब भूपू प्रहरी कर्मचारी र तिनका परिवारले नेपाल प्रहरी अस्पताल र प्रदेश प्रहरी अस्पतालहरुमा निःशुल्क औषधिउपचार गराउन पाउने भएका हुन् । जसको चौतर्फी प्रशंसा भएको छ ।
यसअघि बहालरत कर्मचारीलाई चेकजाँच, ल्याब टेस्ट, औषधि निःशुल्क भएपनि भूपू कर्मचारीलाई केही छुटमा निश्चित् शुल्क दिँदै आइएको थियो । त्यसैले आईजीपी कुँवर भूपू कर्मचारीलाई पनि बहालरत कर्मचारीलाई जस्तै स्वास्थ्य सेवासुविधा दिनुपर्ने पक्षमा रहँदै आएका थिए ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक डिआईजी) भीमप्रसाद ढकालका अनुसार आउँदो साउनदेखि अवकाशप्राप्त कर्मचारी र तिनका परिवारले चेकजाँचदेखि लिएर औषधिसम्म निःशुल्क पाउनेछन् ।
‘गत ४ दिनअघि बसेको समितिको बैठकले सो निर्णय गरेको हो । यो निर्णयले अवकाशप्राप्त कर्मचारीहरुलाई धेरै राहत हुन्छ । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमअन्तर्गत सञ्चालित प्रहरी अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिँदा अब उहाँहरुले कुनै शुल्क तिर्नुपर्ने छैन्’, उनले भने ।
यसअघि बहालवाला कर्मचारीलाई निःशुल्क भएपनि भूपू कर्मचारीहरुले भने थोरै मात्र छुट पाउने गरेको बताउँदै डिआईजी ढकालले यो निर्णयको हाल सबैतिरबाट राम्रो प्रतिक्रिया पाएको बताए ।
प्रवक्ता ढकाल भन्छन्, हामीले चुनौतीका बाबजुद पनि निःशुल्क उपचार गर्ने निर्णय गरेका हौं । त्यसैले अब कल्याणकारी कोषलाई मजबुत बनाउन जरुरी छ । चुनौती हुँदाहुँदै पनि हामी अघि बढेका छौं ।’
