काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेले इलाम २ मा हुने उपनिर्वाचनमा पैसाको चलखेल रोक्न प्रहरीलाई निर्देशन दिएका छन् ।
शुक्रबार इलामको माङसेबुङमा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई भोट माग्दै उपनिर्वाचनमा पैसा बाँड्ने काम हुने गर्छ भने जसरी पनि रोक्न प्रहरीलाई निर्देशन दिएका हुन् ।
‘सुरक्षा निकायका साथीहरू चुनावमा पैसा बाँड्नेलाई ध्यान दिएर हेर्नुहोला । यसपटक कसरी पैसा बाँडिन्छ हामी पनि हेर्छौँ । कहीँ कसैले भोट किन्न खोजेमा आदेश कुर्नुपर्दैन, कहाँ जाक्ने हो जाक्नुहोला,’ उनले भने ।
देशको भविष्यमाथि खेलबाड गर्ने देशद्रोही रहेको बताउँदै गृहमन्त्री लामिछानेले देशद्रोहीलाई कसरी ठीक लगाउनुपर्छ भन्ने तपाईंले लगाएको बर्दीले आफैँ बोल्ने र बर्दीको इज्जत चुनावमा देखाउन अनुरोध गरे ।
उनले आफूहरू राजनीतिमा आशा जगाउन आएको दाबी गरे । यसअघिको निर्वाचनमा दल खोलेको पाँच महिनामै २१ सांसदसहित राष्ट्रिय दल बनाएर विश्वको राजनीतिमा इतिहास लेख्ने काम गरेको उनको दाबी छ ।
