काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामीप्रतिको व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन आग्रह गरेका छन् ।
मंगलबार नेपाल प्रहरी अस्पताल महाराजगंजको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।
आन्तरिक प्रतिस्पर्धा तथा अन्य सांगठिनक मूल्य मान्यतामा क्षय हुने क्रियाकलापमा नरूमल्लिईकन समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीलाई उनले निर्देशन समेत दिए ।
अस्पतालले विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र प्रभावकारी तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अस्पताललको विकास र विस्तारमा सँधै सहयोगी र सकारात्मक रहँदै यसका लागि संगठनले खेल्नुपर्ने भूमिका तथा सहयोगप्रति सदैव चिन्तनशील तथा प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पुर्याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गरे ।
त्यस्तै कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे ।
उनले अस्पतालमा नवनिर्मित इमर्जेन्सी भवन र मोडुलड अप्रेसन थिएटरको उद्घाटन गर्नुका साथै अवलोकन तथा बिरामीसँग भेटघाट समेत गरे । साथै उनले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८०’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गरे ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय योगदान दिनुहुने अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई कदरपत्र प्रदान गरे ।
साथै उनले अस्पतालका भिजिटिङ कन्सल्टेन्ट प्रध्यापक डा. सानु मैया दली, अस्पताललाई स्थापना कालदेखि सेवा सहयोग गर्नुहुने पूर्व प्रहरी नायव उपरीक्षक श्री बहादुर थापा र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजलाई कदरपत्र प्रदान गरे ।
यसैगरी एन.पि.एल. समाज कल्याण संस्था ललितपुरलाई प्रशंसापत्र, सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत स्त्री तथा प्रसुती विभागलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्रदान गरे ।
यस्तै नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ह्विल चियर १० थान अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरिन ।
संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘हेल्दी वेवी सो कन्टेस्ट’ कार्यक्रममा छनौट भएका ३ जना शिशुहरूलाई पुरस्कार प्रदान गरिन । साथै संघका अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेका थिए ।
समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरि आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गरिन ।
समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।
