काठमाडौं । प्रहरी प्रधान कार्यालयले पर्वतको जलजलामा दम्पती हत्या घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई खटाउने निर्णय गरेको छ ।
स्थानीय प्रहरीले हत्याको अभियुक्तहरू पहिचान गर्न नसकेपछि मंगलबारदेखि सिआईबी टोली खटिन लागेको हो । दम्पत्तिको शव हत्यापश्चात एक साताअघि भेटिएको थियो ।
जलजला गाउँपालिका– २ मल्लाजनिवासी ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया श्रीमती गमला जिसी गत २० चैतम घरमै मृत अवस्थामा भेटिएका थिए । घटनास्थलका आधारमा प्रहरीले उनीहरूको हत्या भएको निष्कर्ष निकालेको छ ।
पेसेवर आपराधिक समूहबाटै हत्या भएको आधार देखिएपछि सिआईबी खटाउने निर्णय गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । हत्यापछि सुन र नगदसमेत लुटिएको थियो ।
एकान्तमा रहेको घरमा जिसीदम्पती मात्र बस्दै आएका थिए । उनीहरूका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा र अर्का एक छोरा म्याग्दीको बेनी बजारमा बस्दै आएका थिए ।
बेनी बजारमा पसल गरेर बस्ने जेठो छोरा रविन जिसीले घरमा बुबाआमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाउँदा उनीहरू मृत भेटिएका हुन् ।
