काठमाडौ । क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको थियो ।
ढकालको पदावधि थपिएको औपचारिक जानकारी दिइसकिएको छ । अब ढकालको पदावधि सन् २०२८ सम्म कायम रहनेछ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो ।
महावाणिज्यदूत ढकाल तैयारी पोशाक र हस्तकलाका वस्तु नेपालबाट अमेरिका आयातगर्ने एक अग्रणी व्यवसायीका रूपमा स्थापित छन् । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र मानेर आफ्नो व्यापार प्रवर्धनका साथै नेपाल र नेपालीपनको जगेर्ना गर्नमा ढकाल सक्रिय रहदै आएका छन् ।
एकपटकको नेपाली, संधैको नेपाली अभियान अन्तर्गत दोहोरो नागरिकताको प्रावधानका लागि एनआरएन आइसीसीको समितिमा रहेर नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राख्न पहल गर्ने एक अभियन्ताको रुपमा पनि ढकालको परिचय स्थापित छ ।
२००५ मा अमेरिका आएका ऋषिको राइजिङ इन्टरनेशनल इन्क सन् २०१३ सम्म नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको अग्रणी आयातकर्ता भईसकेको थियो । सन् २०१४ मा नेपाल सरकारकातर्फबाट महत्वपूर्ण व्यवसायिक व्यक्तित्वका लागि दिइने सम्मान तत्कालीन राष्ट्रपति रामवरण यादवबाट ढकाललाई प्रदान गरिएको थियो ।
अहिले उनले थाइल्याण्ड, चीन र भारतबाट समेत सामानहरू आयात गर्न थालेका छन् भने रेष्टुरेण्ट, रियलस्टेट जस्ता व्यवसायमा समेत लगानी गरेका छन् । ढकाल परिवारको क्यालिफोर्नियामा केही व्यापारिक प्रपर्टीहरुमा लगानी छ ।
ढकालले नेपालका बिभिन्न क्षेत्रमा लगानी गरेका छन् । एनआरएनको हैसियतमा उनको कमाइको केही हिस्सा नेपालमा पनि लगानी भएको छ । हाइड्रो पावर, नेपाल क्यान्सर अस्पताल र तक्षशिला एकेडेमीमा ढकाल परिवारको लगानी छ ।
ढकाल परिवार सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय छ । लसएन्जलसमा रहेको पशुपति फाउण्डेसनको स्थापनाको लागि महापुराण लगाएर झन्डै ११ लाख डलर सङ्कलन गर्ने कार्यको संयोजन गरेका ढकाल परिवारले फाउण्डेसनलाई ७५ हजार डलर आर्थिक सहयोग समेत गरेको थियो ।
