काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ ।
काठमाडौंबाट काँकरभिट्टा गइरहेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो । प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ ।
मृतक प्रहरी जवान यादव पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
