काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेका हुन् ।
तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ ।
पहाडी जिल्ला नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो ।
यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको छ ।
यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


