काठमाडौ । प्रहरीले सर्लाहीको मलंगवा बजारबाट २७ लाख ७५ हजार ९७० रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-३ घर भएका २४ वर्षीय कमर राजा र सोही ठाउँका ४० वर्षीय आरिफ अन्सारी रहेका छन् ।
मलंगवा एरियामा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले आदेशविपरीत हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सबिन कुमार कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक कार्कीको टोलीले मलंगवा नगरपालिका-९ स्थित सडकखण्डमा पुग्दा कमर राजा शकास्पद अवस्थामा कालो रंगको झोला बोकेर हिंडेको देखेपछि उनलाई रोकि चेकजाँच गरेको थियो ।
सोही क्रममा एक हजारको १० लाख रुपैयाँ उनको साथबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । उनले भने, ‘सँगै उनको साथबाट ९ लाख ९० हजारको जम्मा गर्न राखिएको २ वटा भौचर समेत बरामद भएको छ ।’
उक्त भौचर लक्ष्मी सनराइज बैंक लिमिटेडको रहेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले कमर राजालाई सोधपुछ गरि उक्त रकम कहाँबाट ल्याएको भनी सोधपुछ गरेको थियो । बयानमा उनले आरिफ अन्सारीले संचालन गरेको फोन सिटी मोबाइल पसलबाट ल्याएको बताए ।
बयानपछि प्रहरीले कमर राजालाई समेत आरिफ अन्सारीले संचालन गरेको मोबाइल पसलमा लगि खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा १७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद भएको एसपी ज्ञवालीले बताए । उनीहरूले उक्त रकमको स्रोत समेत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
