काठमाडौं । इलाका प्रहरी कार्यालय, धरानले कुनै घटनामा लिखित उजुरी दिन कानुन व्यवसायीबाट लेखाउने खर्च नभएका पीडित पक्षको निवेदन प्रहरीले नै लेखिदिने व्यवस्था गरिदिएको छ ।
इलाका प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्दै प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले भने, ‘निवेदन लेखाउन खर्च नभएर उजुरी नै गर्न नआएको पाइएकोले प्रहरीले नै निवेदन लेखिदिने नागरिक सुरक्षा सहायता कक्ष सुरु गरेका छौं ।’
डिएसपी राईले चैत १५ गतेबाट इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । आइतबार सञ्चारकर्मीहरूसँग भएको परिचयात्मक भेटघाटमा जिम्मेवारी सम्हाले लगत्तै नागरिक सुरक्षा साहायता कक्षबाट निवेदन लेख्ने व्यवस्था गरिएको जानकारी दिए ।
डिएसपी राईले धरानको जिम्मेवारी सम्हालेको भोलिपल्टै घटेको खुकुरी प्रहारको एक घटनाका घाइते उजुरी गर्न नै नआएकोले घरमै गएर सोधपुछ गर्दा ‘निवेदन लेखाउने पैसा नभएकोले उजुरी दिन नआएको’ बताएको उल्लेख गर्दै डिएसपी राईले भने, ‘त्यसपछि निवेदन लेखिदिने नागरिक सुरक्षा सहायता कक्ष सुरु गरेका हौं ।’
प्रहरीमा दिइएका कतिपय निवेदन तत्काल दर्ता नगरिने गुनासोको बारेमा उनले प्रहरीमा आउने सूचना तथ्यपूर्ण भएमा दर्ता नहुने कुनै कारण नहुने बताए । डिएसपी राईले भने, ‘तर कसैलाई आरोप लगाइन्छ भने पुष्टि हुने आधार हुनुपर्दछ ।’
