सुनसरी । सुनसरीको झुम्का कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका खोटाङको साकेला गाउँपालिकाका ४२ वर्षीय न्यायाधीश राईको मृत्यु भएको हो ।
राईको शनिबार बिहान ३ बजे कारागारमा मृत्यु भएको हो । पत्नी हत्याको आरोपमा कर्तव्य मुद्दामा कैद भुक्तान गरिरहेका उनी इटहरी उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएका थिए ।
राईका आफन्तहरूले कारागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएका छन् । मृतक राईका दाई सुभाषले भाइको शरीरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले उनको हत्या गरिएको आरोप लगाए ।
तर यता झुम्का कारागारले जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएको छ । पीडित पक्ष न्याय र क्षतिपूर्ति नदिएसम्म शवको पोस्टमार्टम गर्न नदिने र शव नबुझ्ने अडानमा छन् ।
घटनाबारे छानबिन सुरु गरेको सुनसरी प्रहरीले जनाएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।
