काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले तस्करीको सुन प्रकरणमा फरार रहेका आरोपी जीवन चलाउनेले मिडियाहरुमा दिएका अभिव्यक्तिलाई तथ्यका रुपमा लिन नसकिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले सञ्चारमाध्यममा सार्वजनिक भएका चलाउनेका अभिव्यक्तिलाई तथ्यका रुपमा मान्न नसकिने बताएका हुन् ।
चलाउने पक्राउ नपरेसम्म उनको कुरालाई तथ्यका रुपमा लिन नसकिने आईजीपी कुँवरले बताए ।
चलाउनेले सुन प्रकरण अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले पैसा मागेको तर, नपाएपछि आफूलाई प्रतिवादी बनाएको अडियो र भिडियो सार्वजनिक गरेका थिए ।
सुन तस्करीबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको जाँचका क्रममा चलाउनेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बयान लिएर समेत छाडेको पाइएको थियो ।
यसमा संलग्न भएको आरोपमा सीआईबीकी निवर्तमान प्रमुख किरण बज्राचार्य, प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा, नायब उपरीक्षक (डिएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवर पनि कारवाहीस्वरुप हेडक्वाटर तानिएका छन् ।
