चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यस वर्षको होली पर्व सभ्य एवं सुरक्षित रूपमा मनाउन अनुरोध गरेको छ । होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो ।
चितवन प्रहरीले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । भोलि आइतबार पहाड र सोमबार तराईको होली पर्व परेकोले राजमार्गदेखि भित्री सडकसम्म निगरानी बढाएर प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको हो ।
चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे ।
प्रहरीले कुनै उच्छृङ्गल गतिविधि हुन सक्ने भएकोले चितवनका राजमार्गदेखि भित्री सडकसम्म भोलि बिहानदेखि नै चेकिङ हुने एसपी रिमालले बताए ।
एसपी रिमालले भने, ‘ होलीलाई मध्यनजर राखेर चितवन प्रहरी हाइअलर्टमा छ । ट्रफिकसँगको समन्वयमा राजमार्गदेखि भित्री सडकसम्म प्रहरीको चेकिङ र निगरानी हुनेछ । अन्य समयभन्दा बढी गस्ती पनि बढाइएको छ ।’
उनले होलीमा मापेस गरेर मोटरसाइकल चलाउने, मनपरी लोला हान्नेहरुमाथि विशेष निगरानी राखिने बताए । चितवन प्रहरीले एक हप्ता अगाडिदेखि नै माइकिङ र सञ्चार माध्यमबाट जिङ्गल बजाएर सचेतना दिने काम गरिरहेको छ ।
विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको जानकारी दिँदै एसपी रिमालले भने, चितवनमा बिगतमा भएका जोखिमहरूको मूल्याङ्कन गरेर कुन ठाउँमा कसरी के कस्ता घटनाहरू भएका थिए, त्यसको आधारमा चितवन प्रहरीले सुरक्षा रणनीति बनाएको छ ।
होली खेल्न नचाहने व्यक्तिलाई जबरजस्ती रङ लगाइदिने, लोला हान्ने लगायतका गतिविधि गरे नछाडिने चितवन प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरेको छ ।
साथै कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएकोमा तत्काल नजिकैको प्रहरी कार्यालय तथा नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय चितवनको फोन नम्बर ९८५५०९०१३३ मा सम्पर्क गरी जानकारी गराउन भनिएको छ ।
