काठमाडौ । बारा प्रहरीले होली पर्वलाई सभ्य,शिष्ट,स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको छ । बिहीबार एक सुचना जारी गर्दै प्रहरीले आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र ‘होली खेलौँ’ भनेको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले जारी गरेको सुचनामा होली पर्वको नाममा मादक पदार्थको सेवन गरी उच्छृङ्खल क्रियाकलाप नगर्न अनुरोध छ ।
सूचनामा भनिएको छ – ‘असभ्य र अश्लिल किसिमको होलीका नबजाऔँ र साँझ अवेला सम्म होली नखेलौं । ध्वनी प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा साउण्ड सिस्टम आदिको प्रयोग नगरौँ ।’
यस्तै कसैको ईच्छा विपरित रंग, लोला,मोविल, मोसो, केमिकल र फोहोर फाल्ने जस्ता काम नगर्न समेत प्रहरीले आग्रह गरेको छ । महंगा गर गहना लगाई होली नखेलौँ,’ सूचनामा भनिएको छ ।
त्यस्तै ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्दै मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र अशक्त,महिला, वालबालिका, जेष्ठ नागरीक, पैदल यात्री र बटुवालाई होली खेल्न कुनै पनि प्रकारको करकाप नगर्न बारा प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीको अनुरोधलाई बेवास्था गर्दै गाँजा, भाङ वा कुनै किसिमको नशालु पदार्थ सेवन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने पनि जनाएको छ । यस्तै सार्वजनिक शान्ति, सुरक्षा व्यवस्थालाई असर पर्ने कुनै कार्य गरेमा वा गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत गरेको छ ।
होली पर्व मनाउने बहानामा कुनै पनि अपराधिक गतिविधी हुन लागेको वा भएकोमा तत्काल नजिकैको प्रहरी कार्यालय तथा नेपाल प्रहरीको हटलाईन नं. १०० वा जिल्ला प्रहरी कार्यालयको फोन नं.९८५५०४५१०१ मा सम्पर्क गरी जानकारी गराउन भनिएको छ ।
