काठमाडौं । बुधबार सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुष्टि भएको छ ।
प्रहरीले श्रेष्ठको हत्यामा संलग्न युवकलाई पक्राउ गरिसकेको छ । २४ घण्टा बित्न नपाउँदै प्रहरीले हत्यामा संलग्न युवकलाई धनकुटाबाट पक्राउ गर्न सफल भएको हो । ती युवकलाई धनबुटाबाट धरान ल्याइसकेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रेम सम्बन्धमा धोका दिएपछि ती युवकले सुमनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरी फरार भएका भुजेल थरका युवकलाई बिहीबार धनकुटाबाट पक्राउ गरी धरान ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि समेत बढाएको थियो । सुमना धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् ।
घटनाबारे शुक्रवार अर्थात आज पत्रकार सम्मेलनमार्फत संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । सुमनाको शव बुधवार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।
सुमनाको शव पोष्टमार्टमपश्चात बिहीबार दाहसंस्कार भइसकेको छ ।
