काठमाडौं । प्रहरीले बलात्कार अभियोगमा एक चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिकित्सक पुजन ज्ञवाली रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बलात्कार मुद्दामा पक्राउ गरी मुद्दा दायर गरेको हो । सहकर्मी चिकित्सक महिलालाई नै बारम्बार बलात्कार गरेको अभियोग उनीमाथि छ ।
मेडिकेट अस्पताल बुटवल, रुपन्देहीमा कार्यरत ज्ञवालीमाथि पूर्वप्रेमिकालाई बलात्कार र यौन शोषण गरेको अभियोग रहेको परिसरका एक प्रहरी अधिकृतले भने ।
बुटवलस्थित प्रादेशिक अस्पतालमा कार्यरत रहँदा सहकर्मी चिकित्सकसँग उनी प्रेममा परेका थिए । तर, ती चिकित्सकलाई वेवास्था गरी अर्की युवतीसँग बिहे गरेका थिए ।
ज्ञवालीले गत २ फागुनमा विहे गरेका थिए । ११ फागुनमा उनी पक्राउ परेका हुन् ।
एमडीको प्रवेश परीक्षाका लागि काठमाडौं आएका बेला काठमाडौं-१६ बोहोराटारस्थित डेरामा बलात्कार गरेको अभियोगमा ज्ञवाली पक्राउ परेका प्रहरीले जनाएको छ ।
यद्यपी उनले बयानमा बलात्कार अभियोग अस्वीकार गरेका छन् । पीडित र पीडक दुवै जनाले बंगलादेशबाट एमबीबीएस गरेका छन् ।
