काठमाडौं । बिहीबार प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा सूची सार्वजनिक गर्यो । लामो रस्साकस्सीबीच प्रधान कार्यालयले डिएसपी सरुवा गरेको हो ।
यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैंले डिएसपीको सरुवा गर्न खोजेका थिए । तर, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसँग कुरा नमिलेपछि श्रेष्ठले डिएसपी सरुवा गर्न सकेनन् र गृहमन्त्री पद नै गयो । उनको ठाउँमा रास्वपा सभापति रवि लामिछाने छन् ।
रवि गृहमन्त्री भएको २ सातामै आईजीपी कुँवरले डिएसपी सरुवा गर्न सफल भएका हुन् । अहिलेको डिएसपी सरुवा राजनीतिक दबावले भन्दा पनि मापदण्डका आधारमा भएको देखिन्छ । उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा गरिएको आईजीपी कुँवर बताउँछन् ।
मन्त्रीको सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार डिएसपी सरुवाको सम्पूर्ण अधिकार गृहमन्त्री लामिछानेले आईजीपी कुँवरलाई दिएका थिए । जसकारण डिएसपी सरुवा उत्कृष्ट भएको ती कर्मचारी बताउँछन् ।
गृहमन्त्री लामिछानेले प्रहरी मापदण्डअनुसार सरुवा गर्न निर्देशन दिएपछि आईजीपी कुँवरले समेत मापदण्डअनुसार नै सरुवा गरेका आईजी सचिवालयमा कार्यरत एक प्रहरी अधिकृत बताउँछन् । ‘अहिलेको सरुवा प्रहरीको नियमभन्दा बाहिर गएको छैन,’ ती अधिकृत भन्छन् ।
