काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेको कटु आलोचना गरेका छन् । उनले सहकारी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताको प्रश्न उठाए ।
रास्वपाका नेता समेत रहेका खरेलले आफू संलग्न पार्टी रास्वपा सभापति लामिछानेको आलोचना गरेका हुन् । उनले प्रधानमन्त्रीसहित सरकारका थुप्रै मन्त्रीहरुको नियुक्तिमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट रहेको बताए ।
रास्वपामा प्रवेश गरे पनि निष्क्रिय रहेका खरेलले पछिल्लो समय एउटा निजी टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँदै आएका छन् । उक्त कार्यक्रमको पछिल्लो एपिसोडमा उनले सुन तस्करीमा पक्राउ परेका कृष्णबहादुर महराको प्रसंग उठाएका थिए ।
महरालाई पक्राउ गरेकोमा खरेलले गृहमन्त्रीलाई धन्यवाद दिए । तर, त्यसपछि उनी गृहमन्त्रीमाथि नै खनिए । खरेल भन्छन्, ‘प्रश्न त तपाईंमाथि पनि छन् नि गृहमन्त्रीज्यू । सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईंले नै दिने हो । आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईंबाट पनि भएकै हो ।’
यो कार्यक्रम प्रशारण हुनुअघि फेसबुक लाइभमा आएर पनि खरेलले लामिछानेको आलोचना गरेका थिए । खरेल अहिले रास्वपाका साधारण सदस्यमात्र हुन् । केहीअघि रास्वपाको जलेश्वर बैठकबाट केन्द्रीय सदस्य बनाउन खोजिँदा खरेलले अस्वीकार गरेका थिए ।
