काठमाडौ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ ।
चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले ‘नेपाल सरकारको प्रतिनिधिको रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्ने गरी स्थानीय प्रशासनको काम–कारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।
निर्देशनमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माणका काममा समन्वय र सहजीकरणलगायत विषय समेटिएको छ ।
मन्त्री लामिछानेले मन्त्रालयको निर्देशन कार्यान्वयन भए/नभएको मूल्यांकन गर्न उच्च अधिकारीलाई आग्रह पनि गरेका छन् ।
नोटः निर्देशनको प्रस्ताव ६ गते भए पनि निर्णय ८ गते (आज) भएको हो ।
