काठमाडौं । उद्योगपति विनोद चौधरीले बाँसबारी जग्गा हिनामिना प्रकरणमा आफ्नै कुनै संलग्नता नरेहको बताएका छन् । बिहीबार बिहान चौधरीले सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेर बयान दिएका थिए ।
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरीले बयान दिएर फर्किने क्रममा सञ्चारकर्मीसँग जिज्ञासामा आफूलाई राजनीतिक षडयन्त्र गरिएको बताएका हुन् ।
चौधरीले आफूले कुनै सरकारी जग्गा नहडपेको बताए । उनले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिए । स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनमा चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिलको कार्यालय लगेर बयान गराएको हो । सीआईबीले सभामुख देवराज घिमिरेलाई बुधबार अनुसन्धान भइरहेको पत्र दिएको थियो ।
त्यसपछि चौधरी आफै कार्यालय पुगेका थिए । चौधरीले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनको भनाइ छ ।
