काठमाडौं । सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । उक्त शव धरान-१६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएका एक व्यक्तिले युवतीको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटीमा गहिरो चोट छ भने घटनास्थलबाट प्रहरीले धारिलो हतियार बरामद गरेको छ ।
अन्तै हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘शव भएको स्थान एकान्त भएकाले कसैले चाल पाएका रहेनछन् । एक दिन अघि नै हत्या गरेको हुनसक्छ । घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लका अनुसार युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन् । ‘उनको हत्या कसले किन गर्यो भन्ने खुलेको छैन,’ मल्लले भने, ‘हामीले सुस्क्ष ढंगले थप अनुसन्धान अघि बढाएका छौँ । मृतक युवतीका अभिभावक आज जाहेरी लिएर यहाँ आउँदै हुनुहुन्छ ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । श्रेष्ठको हत्यामा संलग्न व्यक्तिको खोजी कार्य पनि तीव्र पारिएको छ । घटनामा एक भन्दा बढीको संलग्नता पाइएको अनुसन्धानबाट खुलेको छ ।
अहिले शव पोस्टमर्टमका लागि बिपी प्रतिष्ठान लगिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।
